आज इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत दुई खेल हुने, लेबनानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल।

काठमाण्डौँ, इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत आज (बिहीबार) म्याच डे २ का दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच हुनेछ भने साँझ ६ बजे हुने दोस्रो खेलमा नेपाल र लेबनान खेल्ने छ ।
म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेका थिए । त्यसैले दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने लक्ष्य छ । नेपाल पनि दोस्रो खेलमा लेबनानलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा छ ।
नेपालले पहिलो खेलमा कीर्गिस्तान विरुद्ध १–० को जित निकालेको थियो । म्यानमारले भने लेबनानलाई ३–१ ले पराजित गरेको थियो । त्यसैले आज (बिहीबार) नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनल पुग्नेछन् । अझ म्यानमार र कीर्गिस्तानको खेल दिउँसो हुने भएकोले त्यस खेलको नतिजापछि नेपालले फाइनल पुग्न कस्तो नतिजा ल्याउनु पर्नेछ थाहा हुनेछ ।
अहिले खेलिरहेका चार टोलीमध्ये वरियतामा सबैभन्दा तल लेबनान छ । कीर्गिस्तानले नेपालविरूद्ध योजनाबद्ध रूपमा खेल्दा नेपालले एकभन्दा बढी गोल गर्न सकेन । विमला चौधरीको एक मात्र गोल नेपालले पहिलो ३ अंक जोड्न सफल भएको थियो ।
नेपालले पहिलो खेलमा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बालाई दोस्रो हाफमा खेलाए पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकिनन् । उनी त्यही दिन बिहान मात्र फ्रान्सबाट आएकोले खेल्ने÷नखेल्ने टुंगो थिएन ।
तर दोस्रो हाफमा प्रशिक्षकले साम्बालाई मैदान उतारेका थिए । यस्तै पहिलो खेलको दुई दिनअघि नेपाल आइपुगेकी रेखा पौडेलले पनि पहिलो खेलमा राम्रो खेल्न सकिनन् । यसैगरी पहिलो खेलमा कीर्गिज खेलाडीसँग ठोक्किएर निधारमा चोट लागेकी डिफेण्डर निशा थोकरले मैदान छाडेकी थिइन् । उनलाई तत्काल हस्पिटल लगरेर सोही दिन निधारमा टाँका लगाइएको थियो ।
विदेशी लिग खेलेर सोमबारै मात्र काठमाण्डौँ आइपुसगेका लेबनानका तीन खेलाडीले पहिलो खेल खेलेनन् । फ्रान्समा खेल्ने फरवार्ड क्रिस्ट मालुफ तथा अष्ट्रेलियाको वेलिङग्टन पोएनिक्सबाट खेल्ने डिफेण्डर टिएना जाबेर र मिडिल्डिर मिया गिलले आज हुने नेपाल विरुद्धको खेल्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्