२०८२ बैशाख ८

कीर्गिस्तान विरुद्ध १–० गोलले नेपालको जित ।

काठमाण्डौँ, विमला चौधरीको निर्णायक गोल सहित नेपालले घरेलु मैदानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानविरुद्ध १–० को जित निकालेको छ ।
सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई अंक दिलाउन विमला चौधरी निर्णायक बनिन् । विमलाले खेलको १०औँ मिनेटमा हेडर गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रतामा राखेकी थिइन् । राइट साइडबाट सविता रानामगरले निकालेको क्रसमा बक्सभित्र अनमार्क रहेकी विमलाले सहजै हेडर गोल गरिन् ।
खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालले करिब आधा दर्जन गोलका अवसरको सदुपयोग गर्न सकेन ।
जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडे पनि म्यानमार गोलआधारमा नेपालभन्दा माथि छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै म्यानमार र लेबनानको सहभागिता छ । यसअघि सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानविरुद्ध ३–१ को जित निकालेको थियो ।