२०८२ बैशाख ८

आज दिउँसो २-३ बजेपछि काठमाण्डौँमा पानी पर्नसक्ने ।

काठमाण्डौँ, पश्चिमी न्यून चापीय वायुका कारण आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैगरी कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाण्डौँमा पनि आज वर्षाको सम्भावना रहेको छ । दिउँसो वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।
“दिउँसो २÷३ बजेपछि काठमाडौंमा वर्षाको सम्भावना छ । दिनभर काठमाण्डौँको मौसम बदली हुनेछ, “दिनभर बदली हुने भएकाले जुनसुकै बेला काठमाण्डौँमा हल्का वर्षा हुनसक्छ । यद्यपि, २÷३ बजेपछि वर्षाको बढी सम्भावना छ ।” वाग्मती प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना छ । काठमाण्डौँ, नुवाकोट र रसुवाको पहाडी भूभागमा वर्षा हुने उनले बताए ।
काठमाडौंमा आज चिसो हुनेछ । बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म रहने मौसमविद् अर्यालले जानकारी दिए । “काठमाडौंमा बदली र वर्षाको सम्भावना रहेकाले चिसो हुनेछ,” उनले भने ।
आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।