२०८१ माघ २६

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै ।

काठमाण्डौँ, आज विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यहरु गरी मनाइदैछ ।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए ।
दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ । विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ ।
यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ ।
हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।
सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य संगठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०)को लक्ष्य राखिएको छ ।