आजदेखि १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क ‘एचपीभी खोप’ लगाइदै ।

काठमाण्डौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ ।
विद्यालय केन्द्रित खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको बताउँदै सबैजना आ–आफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने बताए । उनका अनुसार २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।
५४ हजार १६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार ६७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्