२०८१ चैत्र ५

सम्पूर्ण तराई क्षेत्रमा बाक्लो हुस्सु र कुइरो, विराटनगरको भिजिविलिटी शुन्य ।

काठमाण्डौँ, आज पनि पूर्वी तराईदेखि पश्चिम तराईसम्म हुस्सु र कुहिरो लागेको छ ।
सुदूरपश्चिममा भन्दा पूर्वी नेपालमा हुस्सु र कुहिरो बढी लागेको छ । हुस्सु र कुहिरोका कारण तराईका अधिकांश स्थानमा भिजिविलिटी न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म पनि विराटनगरमा भिजिविलिटी नील (शून्य मिटर) रहेको छ । “चन्द्रगढी र भैरहवामा समान एक हजार मिटर भिजिविलिटी छ, जनकपुर, सिमरालगायत स्थानमा पनि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।”
घाम लागेसँगै केही कम हुने हुस्सु र कुहिरो दिउँसोसम्म घट्ने विभागले जनाएको छ ।
यसअघि हिजो (आइतबार) पनि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लगेको थियो । हिजो विराटनगरको भिजिविलिटी ५० मिटर थियो । जनकपुर र भैरहवाको समान १०० मिटर भिजिविलिटी मापन गरिएको थियो ।
जाडो नहटेसम्म तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरू बताउँछन् । न्यून भिजिविलिटीका कारण बिहानको समयमा यातायात सेवा प्रभावित हुँदै आएको छ ।