आज शहीद दिवस, दिवसको अवसरमा आज सार्वजनिक बिदा ।

काठमाण्डौँ, प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय पनि गरेको छ ।
शहीद सप्ताहको अन्तिम दिन आज सरकारले शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण र माल्यार्पण गरिने छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु पनि सहभागी हुनेछन् ।
विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । तर यस वर्ष प्रधानमन्त्री ओली आफैं शहीदगेट पुग्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पुग्ने छन् । सिंहदरबार परिसरमा आयोजना हुने शहीद दिवसको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वि.सं २०१२ देखि नै तत्कालीन काठमाण्डौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्छ । यस वर्ष शहीद सप्ताहको अन्तिम दिन सरकारकै तर्फबाट शहीद दिवस मनाउन लागिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर स्थित राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको छ । गोकर्णेश्वरमा वनमन्त्रीको सहभागितामा कार्यक्रम गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्