आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै ।

काठमाण्डौँ, आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाइरहेको छ । ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित भारतले यस वर्षको गणतन्त्र दिवस मनाउन लागेको हो।
गणतन्त्र दिवसका अवसरमा भारतले प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोलाई निमन्त्रणा दिएको छ । गणतन्त्र दिवसमा सहभागी हुन उनी शुक्रबार नै नयाँ दिल्ली पुगिसकेका छन् ।
गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीस्थित ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूबाट झण्डोत्तलनका साथै परेड प्रदर्शनीको तयारी गरिएको छ । परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने गरिन्छ ।
सन् १९५० मा २६ जनवरीका दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ अगस्त १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।
गणतन्त्र दिवसमा नेपालका लागि भारतीय राजदूतको यस्तो सन्देश
भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्र मुलुक बनेको थियो। दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सूचना जारी गर्दै भारत र नेपाललाई सहस्राब्दीयौँदेखि भौगोलिकरूपमा भूमि, नदी र हिमालले जोडेको बताएका छन्।
उनले नेपालका प्रसिद्ध पवित्रस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम आउने भारतीय तीर्थयात्रीको संख्याले पनि दुई देशबीचको सम्बन्ध गहिरो रहेको प्रतिबिम्बित गरेको जनाएका छन्। राजदूत श्रीवास्तवले भारतको प्रयागराजमा सन् २०२५ जनवरी १३ देखि फेब्रुरी २६ सम्म हाल जारी रहेको महाकुम्भमा नोपली तीर्थयात्रीहरूले सहभागिता जनाएकोबाट पनि दुई देशको सम्बन्ध प्रगाढ रहेको जानकारी दिएको बताएका छन्।
उनले महाकुम्भमा नेपाललगायत विश्वका ४० करोडभन्दा बढी आगन्तुक आउने अपेक्षा राखेका छन्। उनले भारतले नेपालको आर्थिक क्षेत्रमा समेत सहायता गर्ने आश देखाएका छन्। सन् २०२४ को नोभेम्बरमा भारचीय ग्रिडमार्फत नेपालबाट बंगलादेशमा ४० मेगावाटको पहिलो त्रिपक्षीय ऊर्जा व्यापारको सुरुवात नै यस्तो कनेक्टिभिटीको एक उदाहरण भएको सन्देशमा जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्