२०८१ माघ २६

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशनबारे छलफल गर्ने ।

काठमाण्डौँ, नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ ।
नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, संघीय संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याएको भन्दै काँग्रेसका प्रभावशाली नेताहरूले समेत सरकारको कदमलाई गलत भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला शनिबार पार्टीको शीर्ष नेतृत्वले मन्त्रीहरूसँग छलफल गरेको थियो ।
छलफलमा सहभागी हुँदै सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन सबैलाई निर्देशनसमेत दिएका छन् ।