२०८१ माघ २६

भारतको जलगाउँमा रेल दुर्घटना, १२ जनाको मृत्यु ।

नयाँ दिल्ली, भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
सोही रेल दुर्घटनामा परी घाइते सातजनाको अस्पतालमा उपचार भइरहेको छ । आगलागीको हल्लाका कारण केही यात्रु रेलबाट ओर्लेर ट्र्याकमा उत्रिए र विपरीत दिशाबाट आइरहेको अर्को रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
पुष्पक एक्सप्रेस साँझ करिब ५ बजे अनियमित रूपमा रोकिएपछि यो दुर्घटना भएको हो । आगो लागेको हल्लाले त्रसित यात्रुहरूले रेलको चेन तानेर रेल रोकेका थिए । यात्रुहरू ट्र्याकमा उत्रिएपछि उनीहरूलाई कर्नाटक एक्सप्रेसले ठक्कर दिएको हो ।
भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाका अनुसार, दुर्घटना माहीजी र पार्धाडे स्टेशनको बीचमा भएको थियो, जुन मुम्बईदेखि करिब ४०० किलोमिटर टाढा पचोराको नजिक पदर्छ । लखनउ–मुम्बई चल्ने पुष्पक एक्सप्रेस अचानक रोकिएपछि यात्रुहरूले रेलबाट हाम फालेका थिए ।
रेलवे अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पुष्पक एक्सप्रेसको एउटा डब्बामा ‘हट एक्सल’ वा ‘ब्रेक बाइन्डिङ’ (ब्रेक जाम) का कारण समस्या उत्पन्न भएको थियो । यात्रुहरूमा त्रास फैलिएपछि चेन तानिएको र केहीले रेलबाट हाम फालेको पुष्टी भएको छ ।
भरतीय रेलवे विभागले घटनाको गहिरो अनुसन्धान सुरु गरिसकेको छ । घटनास्थलमा स्थानीय प्रशासन र आपतकालीन टोलीले उद्धार कार्य गरेका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेलवेले मृतक परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।