२०८१ माघ २६

इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या ।

तेहरान, इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ ।
सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या भएको जनाइएको छ ।
सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।
मिजान अनलाइनका अनुसार मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह हुन् । उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतंकवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दाहरू हेर्ने गरेको पनि बताएको छ ।
उनीहरूको हत्याको कारण तत्काल स्पष्ट नभएको मिजानले जनाएको छ । आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन् ।
मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेका थिए । यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए । न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डको सामना गरेको छ । (एएफपी)