२०८१ माघ २६

इजरायल र हमास गाजामा युद्धविराम सम्झौताको नजिक, कतारमा बार्ता हँदै ।

काठमाण्डौँ, गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइ गर्ने सम्झौताका सर्तहरूलाई अन्तिम रूप दिइँदै आज कतारमा वार्ता हुँदै छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौता अन्तिम चरणमा पुगेको र उनको प्रशासनले यस विषयमा काम गरिरहेको बताएका छन् । एक इजरायली अधिकारीले न्युज एजेन्सी रोयटर्सलाई भने, “वार्ता अन्तिम चरणमा छ र केही घण्टामा सम्झौता हुन सक्छ ।”
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमद अल–थानीसँग कुरा गरेका थिए ।


हमास र इजरायली अधिकारीहरूले वार्ता गरेका थिए । सम्झौताको पहिलो दिन हमासले तीन जना बन्धकहरूलाई रिहा गर्नेछ । त्यसपछि इजरायलले बस्ती भएको क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउन सुरु गर्नेछ । दुवै पक्ष यी कुरामा सहमत भएका छन् ।
सात दिनपछि हमासले अन्य चार बन्धकलाई रिहा गर्नेछ । इजरायलले दक्षिणी क्षेत्रका विस्थापित मानिसहरूलाई उत्तर फर्कन अनुमति दिनेछ । तर, तिनीहरू तटीय सडकबाट हिँडेर मात्र फर्कन सक्नेछन् ।
सलाह अल–दिनको बाटो हुँदै कार, जनावरले तान्ने सवारी साधन र ट्रकहरूलाई गुड्न अनुमति दिइनेछ । कतार र इजिप्टका प्राविधिक सुरक्षा टोलीले एक्स–रे मेसिनको सहयोगमा यसको निगरानी गर्नेछन् ।
युद्धविराम सम्झौतामा इजरायली सेनाहरू फिलाडेल्फी करिडोरमा रहने, ४२ दिनको पहिलो चरणमा पूर्वी र उत्तरी सिमानामा ८०० मिटरको ‘बफर जोन’ कायम राख्ने प्रावधान समावेश छ ।
सम्झौता अन्तर्गत, इजरायलले एक हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न पनि सहमति जनाएको छ । जसमा १५ वर्ष वा सोभन्दा बढी समयदेखि जेल सजाय भोगिरहेका करिब १९० कैदी पनि समावेश गरिने जनाएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले पनि दोहाको भ्रमण गरेका थिए । यदि जनवरी २० मा आफूले पदभार ग्रहण गर्नुअघि बन्धकहरूलाई रिहा गरिएन भने ‘सबै ध्वस्त हुने’ चेतावनी ट्रम्पले पहिले नै दिएका थिए ।

इजरायली विदेशमन्त्री गिदोन सारले पत्रकारहरूलाई वार्तामा प्रगति भएको र सम्झौता ‘पहिलेभन्दा धेरै राम्रो’ हुन गइरहेको बताएका छन् ।

पछिल्ला घटनाक्रमहरू यस्तो समयमा भएका छन्, जतिबेला नेतान्याहूले आफ्नो सत्तारूढ गठबन्धन भित्रैबाट सम्भावित सम्झौताको कडा विरोधको सामना गरिरहेका छन् ।

नेतान्याहूको आफ्नै लिकुड पार्टीका केही सदस्यहरू, साथै १० जना दक्षिणपन्थी सदस्यहरूले सम्भावित युद्धविरामको विरोध गर्दै उनलाई पत्र पठाएका छन् । गाजाको नागरिक सुरक्षा एजेन्सीले युद्धविरामका लागि वार्ता चलिरहेको बेला सोमबार गाजा सहरमा इजरायली हवाई आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ ।

अर्कोतर्फ, इजरायली सेनाले यी रिपोर्टहरूको अनुसन्धान गरिरहेको बताएको छ । यसबाहेक, सेनाले सोमबार गाजापट्टीको उत्तरमा पाँच सैनिक मारिएको बताएको छ ।

इजरायल र हमासबीचको यो युद्ध ७ अक्टोबर २०२३ बाट सुरु भएको थियो । दक्षिणी इजरायलमा हमासको आक्रमणपछि युद्ध सुरु भएको थियो । यस आक्रमणमा एकहजार २०० जना मारिएका थिए र २५१ जनालाई हमासले बन्धक बनाएको थियो ।

प्रतिक्रियास्वरूप इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, यी आक्रमणहरूमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

गाजामा अझै पनि ९४ जना बन्धक रहेको दाबी इजरायलको छ । जसमध्ये ३४ जनाको मृत्यु भएको आशंका गरिएको छ । यसबाहेक युद्धअघि अन्य चार इजरायलीहरूलाई पनि अपहरण गरिएको थियो, जसमध्ये दुईको मृत्यु भइसकेको छ ।