काठमाडौंमा चिसो बढ्यो, तराईमा आज पनि हुस्सु र कुहिरो उस्तै ।

काठमाण्डौँ, पश्चिमी वायुका कारण हिजो (बुधबार)को जस्तै आज पनि पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सुका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान विराटनगरमा सबैभन्दा धेरै हुस्सु र कुहिरो लागेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार विराटनगरका बिहान आठ सय मिटर भिजिविलिटी छ ।
“धनगढीमा १२ सय मिटर, भैरहवामा दुई हजार मिटर भिजिविलिटी छ,” मौसमविद् एवं जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूती पोखरेलले बताइन ।
दुई हजार मिटरभन्दा कम भिजिविलिटी भएका ठाउँमा हवाई सेवा प्रभावित हुने उनको भनाइ छ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमान उडान तथा अवतरण हुन सक्दैनन् ।
काठमाडौंमा आज बिहानको भिजिविलिटी ६ किलोमिटर छ । सूर्य उदाएपछि हुस्सु र कुहिरो केही कम हुने उनको भनाइ छ ।
आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ पुग्ने पूर्वानुमान छ । हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्