तराईका अधिकांश स्थानको भिजिविलिटी हजार मिटरभन्दा कम, जनजिवन प्रभावित ।

काठमाण्डौँ, आज बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा क्षणिक÷आंशिक असर पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका धैरै स्थानमा एक हजार मिटरभन्दा कम भिजिविलिटी रहेको छ । “विराटनगर, धनगढी, जनकपुर, वीरगन्जलगायत स्थानमा एक हजारभन्दा कम भिजिविलिटी छ,” भिजिविलिटी न्यून भएकाले हवाई सेवा प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौंमा बिहान ६ बजेको भिजिविलिटी ६ हजार मिटर छ । यसले विमान उडान र अवतरणमा खासै असर गर्दैन । घाम लाग्दै गएपछि मध्याह्नसम्म तराई र उपत्यकामा रहेको हुस्सु र कुहिरो हट्दै जानेछ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान विभागको छ ।
प्रतिक्रिया दिनुहोस्