संघीयता कार्यान्वयन गर्ने कानुन छिटो देऊ : सात प्रदेशका सभामुखको माग

पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका देशैभरिका सभामुखहरूले संघीयता कार्यान्वयन गर्ने ऐन नआउनु दुःखद् भएको गुनासो गरेका छन् । पटक–पटक चर्चा र छलफल हुने तर संसदबाट पारित गरेर नपठाउँदा संघीयता नै कमजोर बनेको निष्कर्ष सभामुखहरूले निकालेका छन् ।
संघीय सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरू सहभागी अन्तर व्यवस्थापिका सम्मेलनले ‘संघीयता कार्यान्वयन गर्ने कानुन छिटो बनाइदेऊ नत्र यो व्यवस्था कमजोर बन्छ ।’ भन्ने सन्देश दिएको छ, ।
संघीयता कार्यान्वयन भएको ६ वर्षसम्म पनि संघप्रति प्रदेशका माग उस्तै छन्, ‘निजामती ऐन, प्रहरी ऐन, जग्गा प्राप्ति ऐन ल्याइदेऊ ।’ संविधान कार्यान्वयनका लागि ल्याउनुपर्ने ऐन छिटो ल्याउन प्रदेशका मुख्यमन्त्रीहरूले विभिन्न समयमा संघीय सरकारलाई चेतावनीसमेत दिँदै आएका छन् ।
संघीय सरकारका मन्त्रीदेखि दलका नेता र सांसदसम्मको उदासिनताका कारण संघीयता कार्यान्वयन गर्ने कानुन नबनेकाले छिटो बनाउन दबाब दिनुपर्ने छलफलको निष्कर्ष छ ।
बुधबार जारी गरिएको सम्मेलनको घोषणापत्रमा पनि संघीयता कार्यान्वयनका निम्ति चाहिने कानुन छिटो बनाउँदा तीन वटै सरकारको सहभागिता र सम्बन्धको विकास गर्नुपर्ने मागसमेत गरिएको छ ।
संघीयतामा आधारित संविधान कार्यान्वयनका निम्ति आवश्यक परेका कानुनहरू छिटो बनाउने, बनेका कानुनहरूको कार्यान्वयन गर्न सबै पक्षलाई आकर्षित गर्नुपर्ने सभामुख देवराज घिमिरेले बताए ।
‘चाहे संघीय निजामती ऐनसँग, चाहे प्रहरी ऐनसँग सम्बन्धित होस्, चाहे विद्यालय शिक्षा ऐनसँग सम्बन्धित होस्, यी कुरामा हाम्रो प्रयत्न छ,’ घिमिरेले भने, ‘यो भेलाले त्यही विषयलाई प्राथमिकता दिएको हुँदा हाम्रो ध्यान त्यता गइसकेको छ ।’ अब आउने हिउँदे अधिवेशनमा प्राथमिकताका साथ ल्याउनुपर्ने र ल्याउन पनि सकिने सभामुख घिमिरेले बताए ।
एकातिर संघले नै कानुन बनाइदिएको छैन भने अर्को भइरहेका कानुन कार्यान्वयनको मापन समेत हुन नसकेको सभामुखहरूको निष्कर्ष छ । त्यसैले कानुनको कार्यान्वयन मापन एवं उत्तरविधायिकी परीक्षणको कार्य सरकारसँग समन्वय गरी संघ र प्रदेशमा सुरु गर्ने सभामुखहरूले घोषणा गरेका छन् । यसका लागि सभाको नियमावलीमा व्यवस्था गर्ने सभामुख घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्