२०८१ माघ ६

प्रथम भारत–नेपाल पर्यटन सम्मेलन काठमाण्डौँमा सम्पन्न ।

काठमाण्डौँ, प्रथम भारत–नेपाल पर्यटन सम्मेलन सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाण्डौँस्थित भारतीय दूतावासले आयोजना गरेको सम्मेलन मंगलबार सम्पन्न भएको हो ।
सम्मेलनमा भारत र नेपालबीच ’सर्किट टुरिजम’ कार्यान्वयनलाई प्रोत्साहन र उत्तर प्रदेशको प्रयागराजमा ’महाकुम्भ २०२५’को प्रवर्द्धनमा केन्द्रित थियो ।
सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी, कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका थिए ।
सम्मेलनमा राज्यमन्त्री चौधरीले नेपालको पर्यटनमा स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताए ।
कार्यवाहक राजदूत श्रीवास्तवले नेपाल र भारतका छिमेकी राज्यमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरूको प्रवर्द्धनमार्फत भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षले निरन्तर संयुक्त प्रयास गर्नुपर्ने बताए ।
सम्मेलनमा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटर सहभागी थिए ।
सम्मेलनमा स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरले दुवै देशका पर्यटकका लागि सम्भावित यात्रा योजनाबारे विचार आदान प्रदान गरेका थिए ।