२०८१ माघ २६

नेपाल विद्यार्थी संघद्वारा विभिन्न अभियान सञ्चालन ।

काठमाण्डौँ, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार नेविसंघले हाल पेड इन्टर्नसीप र ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियान सञ्चालन गरिरहेको छ । देशभरका शिक्षण संस्थामा गएर विद्यार्थीले कानुन विपरीत तिरेको शुल्क फिर्ता गराउने, छात्रवृत्ति नपाएकालाई छात्रवृत्ति उपलब्ध गराउने जस्ता काम गर्दै आएको अध्यक्ष शेर्पाले बताए ।
नेविसंघले सञ्चालन गरेको पेड इन्टर्नसीपको अभियान अन्तर्गत हालसम्म काठमाडौँ उपत्यकासहित देशभरबाट २०० भन्दा बढी लाभान्वित भएका छन् । उनीहरूले न्यूनतम् १५ हजार ५०० रूपैयाँ मासिक ज्याला पाउनेछन् । कम्पनी र इन्टर्नसीपकर्ताबिच त्योभन्दा बढीमा पनि सहमति हुने सक्नेछ ।
एउटा कम्पनीले न्यूनतम १ जना राख्नेगरी सम्झौता गरिए पनि कम्पनीहरूले त्योभन्दा पनि राख्ने गरेको नेविसंघ प्रवक्ता सुरज सेजुवालले बताए । यसका लागि नेविसंघ सहजकर्ता र साक्षी रहने उनको भनाइ छ ।
अहिलेसम्म इन्जिनियरिङ क्षेत्रमा लक्षित गर्दै आएकोमा अब मानविकी तथा अन्य सङ्कायका विद्यार्थी लक्षित अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
नेविसंघको पहलमा पहिलो पटक २०८१ असार १६ गते पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरिएको थियो । त्यस्तै धरान इन्जिनियरिङ, मध्यपश्चिमाञ्चल विश्वविद्यालय लगायतमा पेड इन्टर्नसीपका लागि सम्झौता गरिएको प्रवक्ता सेजुवालले बताए ।