वैदेशिक रोजगारीमा जानेलाई सरकारले विनाधितो ऋण दिने ।

काठमाण्डौँ, वैदेशिक रोजगारीमा जानेलाई सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ ।
वैदेशिक रोजगारी जानेहरु मिटरब्याजको चपेटामा नपरून् भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋण उपलब्ध गराउने कार्यविधिको मसौदा अन्तिम चरणमा पु¥याएको छ ।
वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजका कारण धेरै मर्कामा परेको भन्दै सरकारले बजेट वक्तव्यबाटै सरकारले सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउने घोषणा गरेको थियो । बजेट वक्तव्यमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नागरिक र बैंक खातामा विप्रेषण पठाएको सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ । यसलाई आधार बनाएर श्रम मन्त्रालयले यसको कार्यान्वयनका लागि कार्यविधिको मसौदा तयारी गरेको हो ।
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाधितो ऋण दिने गरी मौद्रिक व्यवस्था गरिसकेको छ । गत साउनमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव २०८१÷८२ को मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानी बनाउन, स्वास्थ्य परीक्षण गर्न, बिमा, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिएका शुल्क तिर्न, हवाई टिकट र वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई सेवा शुल्क तिर्न गरेको खर्चका आधारमा ऋण दिने व्यवस्था गर्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीतिमार्फत नै तिर्ने ग्यारेन्टी भएमा वैदेशिक रोजगारीमा जानेलाई बैंकमार्फत बिनाधितो ऋण उपलब्ध गराउन समस्या नहुने बताए । यसका लागि कानुन बनाएर कार्यान्वयन गर्न सकेमा नेपाल भित्रिने सबै विप्रेषण बैंकमार्फत आउने र अवैधानिक रूपमा सञ्चालित हुन्डी बन्द गर्न पनि सहयोग पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्