बेल्ट एन्ड रोड इनिसिएटिभमा साझा दृष्टिकोण, राष्ट्रिय हितलाई दृष्टिगत गरी समझदारी गर्ने ।

काठमाण्डौँ, सत्ता साझेदार नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) चीन सरकारको बहुउद्देश्यीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपालको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी समझदारी गर्ने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा तथा सरकार सञ्चालनसम्बन्धी संयन्त्र, प्रतिपक्षी दलका नेता र विज्ञसँगको परामर्शपछि सत्तारूढ दलले बिआरआई कार्यान्वयनको मार्गचित्र निर्माण गरेका हुन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईदलीय संयन्त्रको सुझावका आधारमा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बिआरआई कार्यान्वयनका सन्दर्भमा मुलुकको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी समझदारी हुने बताए ।
भविष्यमा विवाद नहुने गरी अध्ययनका आधारमा बिआरआई कार्यान्वयनका सन्दर्भमा नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन । विश्वको दोस्रो अर्थतन्त्र चीनसँग हुने समझदारीले आर्थिक विकासमा लय मिलाउने, छिमेकीसँग सहकार्यका आधारमा स्रोतसाधनको अधिकतम सदुपयोग गर्ने आधार पनि सत्ता साझेदार दलले खोजेका छन् ।
नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले टोखा–खहरे सुरुङमार्ग निर्माण, सिमकोटदेखि हिल्सा जोड्ने सडक, किमाथाङ्का नाकादेखि खाँदबारी आउने सडक, तिब्बतको जिलोङदेखि केरुङ हुँदै काठमाण्डौँ सीमापार रेलमार्ग तथा काठमाण्डौँदेखि हेटौँडा पोडवे, चिलिमे जलविद्युत् आयोजनाको २२० केभी सीमापार प्रसारण लाइन तथा काठमाण्डौँ उपत्यकाको प्रसारण लाइन स्तरोन्नति जस्ता परियोजना प्रस्तावित रहेको बताए ।
महामन्त्री शर्माले स्वास्थ्य क्षेत्र वा भौतिक पूर्वाधार मात्रै नभएर समग्रमा परियोजना नै प्रस्ताव गरिएको बताए । उनले चीन सरकारसँग सम्झौता नगर्ने होइन । नेपाल सरकारले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर, छलफल गरेरै निष्कर्षमा पुगेका हौँ । देशलाई ऋणको भार बोकाइरहन नहुनेमा नागरिक पङ्क्ति भएकाले ऋणमा नजाने कुरा गरेको हो । बिआरआईका सन्दर्भमा अहिले दुई दलबिचमा समझदारी भइसकेको छ । सोही अनुरूप प्रस्ताव लैजाने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्