२०८१ मंसिर २९

विजुलीको महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न निर्देशक कुलमानद्वारा पत्राचार 

काठमाण्डौँ, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् ।
निर्देशक कुलमान घिसिङले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् ।
पत्रमा बिजुलीको बाँकी बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरेको छ ।
अनुरोध पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ ।
बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।