इमरान खानको रिहाइ माग गर्दै हजारौँ सडकमा, विश्वका ६० सहरबाट समर्थन ।
काठमाण्डौँ, पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै राजधानी इस्लामावादमा प्रदर्शन भएको छ । हजारौँको सहभागितामा भएको प्रदर्शनलाई इमरानले ‘फाइनल कल’ भनेका छन् ।
प्रदर्शनलाई रोक्न प्रहरीले इमरानका चार हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको छ । जसमा पाँच सांसद पनि छन् ।
यसैबीच, पाकिस्तानमा जारी विरोध प्रदर्शनले विश्वभरबाट समर्थन पाएको छ । विश्वका ६० भन्दा बढी सहरमा पीटीआईका समर्थकले इमरान खानको रिहाइको माग गरिरहेका छन् । पीटीआईले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा क्यानडा, अमेरिका, बेलायतका धेरै सहरका प्रदर्शनका तस्बिरहरू सेयर गरेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको पाकिस्तान भ्रमणलाई ध्यानमा राख्दै शाहबाज सरिफ सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । राजधानी इस्लामावाद जाने मुख्य सडकहरू नोभेम्बर २३ मा कन्टेनर प्रयोग गरेर बन्द गरिएको थियो । हजारौँ प्रहरी पनि तैनाथ गरिएको छ । धेरै ठाउँमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ ।
इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले मुख्यगरी इमरान खान र पीटीआई कार्यकर्तालाई छिट्टै रिहा गरिनुपर्ने, दोस्रो २०२४ मा भएको निर्वाचनको नतिजा स्वीकार गर्नुपर्ने र संसद्बाट पारित भएको अदालतको शक्ति घटाउने २६औँ संवैधानिक संशोधन ऐनलाई फिर्ता लिने माग गरेका छन् ।
इमरान खानविरुद्ध सयभन्दा बढी मुद्दा विचाराधीन छन् । इस्लामावादको स्थानीय अदालतले २०२३ को अगष्ट ५ मा उनलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो । त्यसपछि उनलाई इस्लामावादको जमान पार्कस्थित घरबाट पक्राउ गरी जेल पठाइएको थियो । पछि उनी थप दुई मुद्दामा दोषी ठहर भएका थिए ।
प्रतिक्रिया दिनुहोस्