आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना ।
काठमाडौँ, आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले बुधबारदेखि सुरु भएको बदलीका कारण यी तीन प्रदेशमा छिटपुटदेखि हल्कासम्मको वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको हो ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हल्का वर्षासँगै तीन दिन यी प्रदेशका उच्च हिमाली भेगमा हल्का हिमपात हुने छ । बिहीबार रातिदेखि शनिबार रातिसम्म यी प्रदेशका विभिन्न भू–भागमा छिटपुटदेखि हल्कासम्मको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम बदलीका कारण लुम्बिनीदेखि पूर्वको तराई भू–भागमा केही दिन बाक्लो हुस्सु, कुहिरो लाग्ने सम्भावना रहेको छ । तथापि दिउँसो घाम लागेको खण्डमा भने बिस्तारै खुल्दै जाने छ । मौसम अनुगमन प्रणालीले ठुलो वर्षाको सम्भावना मङ्सिरको मध्यपछि मात्रै देखाइरहेको छ । त्यो पनि प्रणाली राम्ररी विकसित भइनसकेकाले पछि सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्