उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी ।
काठमाण्डौँ, मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई जना विरुद्ध मात्र उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध मात्र उजुरी परेको छ । काँग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ ।
आयोगको तालिका अनुसार आज साँझ ५ बजेसम्म उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय छ । त्यसपछि ६ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा नामावली प्रकाशित हुने छ ।
त्यसपछि मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । सोही दिन अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका निर्वाचन आयोग छ ।
प्रतिक्रिया दिनुहोस्