२०८१ माघ ६

आज हरिबोधिनी एकादशी पर्व, तुलसी र दामोदरको विवाह गरेर मनाइँदै

काठमाण्डौँ, कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
आसार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
आजका दिन काठमाण्डौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौँबो शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाण्डौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म ाग्ने विशेष मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।