आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाण्डौँ, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउनुभयो ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका महाकवि देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचार–प्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
प्रतिक्रिया दिनुहोस्