२०८२ असार ३१

रास्वपा सभापति रवि लामिछानले ऋण लिएको थप प्रमाण भेटियो, प्रहरीले बरामद गर्‍यो भौचर

काठमाण्डौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको रकम अपचलन अनुसन्धनाका क्रममा थप प्रमाणल भेटिएका छन् ।
काठमाण्डौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाण्डौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ ।
६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाण्डौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘कालीमाटी वृतमा दर्ता भएको थियो, हामीले सो फाइल परिसरमा ल्याएर अनुसन्धान थालेका छौँ ।’
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।
२७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जीबी र रविले संयुक्त नाममा ऋण लिएका हुन् । २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।
त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गरेका प्रहरी वृत्त कालीमाटीका अधिकृत भन्छन्, ‘रवि लामिछानेको नाम समेत भएको ३५ थान भौचर बरामद गरेका छौँ ।’
स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।


स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । गोकर्णेश्वोर नगरपालिका–६ बस्दै आएका दीपक लामा पोखरास्थित सूर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि संलग्न देखिएका छन् । पोखरा र रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । उनलाई झिकाएर बयान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौँले बताएको छ । प्रहरी स्रोतका अनुसार जीबी राई, कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी र दीपक लामासहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जीबीभन्दा अगाडि उनका साढु भाइ दीपक स्वर्णलक्ष्मीको अध्यक्ष थिए ।