२०८१ मंसिर २९

नेपालद्वारा भारत ४–२ गोलले पराजित, उपाधिका लागि बंगलादेशसँग खेल्ने ।

काठमाण्डौँ, भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप–२०२४ मा फाइनल प्रवेश गरेको छ ।
नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो । त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।


त्यसअघि खेलको ७१ औँ मिनेटमा नेपालले ’विवादित गोल’ गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो ।
दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित ‘प्ले अन ह्विसिल’पछि नेपालले गोल गरेको थियो ।
तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको ‘बराबरी गोल’ खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको थियो । त्यतिबेला नेपालकी प्रीति राईले गोल गरेकी थिइन् ।


त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् ।
रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो । नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।