२०८१ मंसिर २९

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाण्डौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यमनत्री पौडेलले सरकारी अस्पताल कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गर्नुभएको हो ।
मङ्सिर १ गतेबाट उपचार निःशुल्क हुनेगरी व्यवस्था मिलाइएको छ । राज्यको सामथ्र्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसैअन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पद बहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नेका थिए ।
नेपालमा ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा छ ।
नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको तथ्याङ्क छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरेर उपचार गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।