२०८२ बैशाख ८

संयुक्त राष्ट्रसघंको सैन्य सल्लाहकारमा उपरथी प्रेमध्वजको उम्मेद्वारी

काठमाण्डौँ, संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ ।
संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ ।
यदि प्रतिस्पर्धामा सफल भए रथी पदमा बढुवा गरेर कामकाज गर्न जान स्वीकृति दिएको रक्षामन्त्रालयलेजनाएको छ ।
यो दर्जामा उम्मेदवारी दिन रथी तहको अधिकारी अनिवार्य भएपनि एक जना प्रधानसेनापति हुने लाइनमा र अर्का शान्ति मिसन फोर्स कमाण्डका रुपमा नेपाल बाहिरै भएकाले उपरथी प्रेमध्वज अधिकारीलाई उम्मदुवार बनाएको हो । उपरथी अधिकारी हाल युद्धकार्य विभागमा छन् ।
नेपाली सेनाले यो तहको भूमिका पाएमा शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्नेछ । हालसम्म नेपाली सैनिक अधिकारीहरुले फोर्स कमाण्डर तहसम्म मात्र जिम्मेवारी पाएका थिए । माथिल्लो तहमा भूमिका दिन नेपालले पटकपटक माग गर्दै आएको थियो ।


सैनिक सल्लाहकारको नियुक्ति संयुक्त राष्ट्र संघको महासचिवले गर्छन् । महासचिव एन्टोनियो गुटेरसले सन् २०२१ मा सेनेगलका जनरल विरामे डियोपलाई सैनिक सल्लाहकार नियुक्त गरेका थिए । यो जिम्मेवारी पाउनुअघि डियोपले सेनेगलका राष्ट्रपतिका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार र एयरफोर्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, सामान्यतः सैनिक सल्लाहकारको कार्यकाल दुई वर्षको हुन्छ । तर, कहिलेकाहीँ आवश्यकता अनुसार म्याद थप समेत हुने गरेको छ ।