२०८१ कार्तिक २०

आज साँझदेखि बीपी राजमार्गमा ठुला गाडी सञ्चालनमा, रातिको समयमा भने प्रतिबन्ध ।

काठमाण्डौँ, सोमबार बेलुकादेखि बीपी राजमार्गमा ठुला गाडीहरू समेत चलेका छन् । बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा आजदेखि ठुला सवारीसाधन पनि सञ्चालन गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसकेकाले सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजन कार्यालयले जनाएको छ ।
सडक सञ्चालन भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।


असोज १०, ११ र १२ गतेको वर्षाका कारण यो राजमार्ग अवरुद्ध भएको थियो । उक्त राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर पूर्ण रूपमा बगाएको कार्यालयले जनाएको छ ।