२०८१ मंसिर २९

आज दशैं, टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेट ।

काठमाण्डौँ, मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।
‘टीका–जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’
‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने ।


सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् । ‘राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।
टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताए । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ३६ मिनेटको दिइएको उनले बताए ।


समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने उनले बताए । तर टीका लगाउनु अघि देवी विसर्जन भने गर्नैपर्ने उनले बताए ।
कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. गौतमले बताए । ‘देवीको प्रसाद हो, पूर्णिमासम्म लगाउँदा पनि राम्रै हुन्छ,’ उनले भने ।
मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धीको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।