दशैंमा पनि अस्पतालहरुले सेवा प्रदान गर्ने
काठमाण्डौं, बडा दशैं नजिकीएसंगै मान्छेहरू घर फर्किने र आफन्तसँग भेटघाट गर्ने तयारीमा व्यस्त छन् । तर स्वास्थ्य क्षेत्रका कर्मचारी दशैंमा पनि आफ्नो कर्तव्य निभाउन तयार छन् ।
अधिकांश अस्पतालहरूले फूलपातीदेखि एकादशीसम्म बहिरंग विभाग (ओपीडी) सेवा बन्द गर्ने निर्णय गरेका छन् । यसले गर्दा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्ने अनुमान गरिएको छ । यद्यपि, ओपीडी सेवा बन्द भए पनि अस्पतालहरूले आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा उपचाररत बिरामीलाई निरन्तर सेवा प्रदान गर्नेछन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले दशैंको बिदामा पनि निरन्तर उपचार सेवा प्रदान गर्ने निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए । अस्पतालले दशैंमा पाँच दिन ओपीडी बिदा भए पनि ती दिनमा २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
पेट दुखाइ, गर्भवती महिलाहरूमा बच्चाको चाल कम हुने, रक्तस्राव वा अन्य कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्तै इमर्जेन्सीमा आएर जाँच गराउन सकिने उनले भने ।
यसैगरी पाटन अस्पतालले पनि दशैंको समयमा आकस्मिक सेवा मार्फत नियमित सेवा दिने जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माका अनुसार सार्वजनिक बिदामा मात्रै ओपीडी सेवा बन्द हुन्छ । तर आकस्मिक सेवा र भर्ना भने नियमित नै हुनेछ ।
काठमाडौं उपत्यका बाहिरका जनशक्तिलाई दशैं र तिहारमा आलोपालो गरी बिदाको व्यवस्थापन गरिएको उनले बताए ।
त्रिवि शिक्षण अस्पतालले दशैंको समयमा उपचारका लागि आउने बिरामीलाई नियमित सेवा दिने भएको छ । अस्पतालका निमित्त निर्देशक डा. धनश्याम गुरुङका अनुसार अस्पतालको आकस्मिक सेवा र इमर्जेन्सी अपरेसन खुला रहने बताए ।
‘दशैं भनेर बिदा दिने चलन अस्पतालमा छैन । अस्पतालको आकस्मिक सेवा र इमर्जेन्सी अपरेसन खुला रहन्छ । आफ्नो ड्युटी आवरमा सबै स्टाफले नियमित सेवा दिन्छ डा. गुरुङले भने ।
यसैगरी दशैंको समयमा देखिन सक्ने रोग र बिरामीको चापलाई व्यवस्थापन गर्न अस्पतालले आकस्मिक सेवाका चिकित्सकहरु रहने व्यवस्था गरेको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले दशैंको समयमा देखिने स्वास्थ्य समस्या र सडक दुर्घटनाका घाइतेको संख्या बढ्न सक्छ । त्यसैले हामीले विशेष तयारी गरेका छौं ।’
उनले भने, ‘सार्वजनिक बिदामा जसरी चल्थ्यो, वार्ड र आकस्मिक कक्ष त्यसैगरी चलाउँछौं । स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गर्छन् र दशैं मनाउँछन् ।’
आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा रहेका बिरामीको उपचारका लागि चिकित्सक तथा नर्सलाई रोटेसनमा परिचालन गरी नियमित सेवा प्रदान गर्ने उनले बताए ।
गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. रवि मल्लका अनुसार दशैंको समयमा पनि आकस्मिक कक्ष र वार्ड खुला रहनेछन् । ‘दशैं भए पनि बिरामीले आकस्मिक सेवा नपाएर फर्किनुपर्ने अवस्था हुँदैन’ उनी भन्छन् । आकस्मिक शल्यक्रिया पनि सञ्चालन हुने उनले जानकारी दिए ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सार्वजनिक बिदाको समयमा समेत ओपीडी सेवा नियमित हुने जनाएको छ । विशेषगरी डेंगुका बिरामीको उपचारका लागि आकस्मिक कक्ष २४ सै घण्टा सञ्चालन हुनेछ ।
अस्पताल निर्देशक डा. युवानिधि बसौला रेबिज, एचआईभी, टीबी जस्ता रोगका बिरामीलाई पनि सेवा दिइने उनले बताए ।
उता, कान्ति बाल अस्पतालमा भने दशैंका बेला ओपीडी सेवा बन्द रहनेछ । तर ‘दशैंको समयमा संख्याको हिसाबमा कम बिरामी आउँछन’ डा. पंकज राय भन्छन्, ‘तर कम बिरामी आएपनि उनीहरुमा रोगको जटिलता बढी हुन्छ । गम्भीर रोगका बिरामी हुन्छन् । त्यही हिसाबले स्वास्थ्यकर्मीको ड्युटी मिलाएको बताए ।’
प्रतिक्रिया दिनुहोस्