२०८१ माघ ६

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फलाई दुबई र जजिराले नियमित उडान भर्ने ।

भैरहवा, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फलाई दुबईले आगामी कार्तिक २४ गतेदेखि हप्ताको सातै दिन उडान गर्ने भएको छ ।
फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कार्तिकदेखि फलाई दुबई भैरहवा उडान भर्न तयार रहेको जनाइएको छ ।
फलाई दुबईको जहाज दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गरेर साढे ३ बजे काठमाण्डौँमा पुग्नेछ । काठमाण्डौँबाट साढे ४ बजे दुबई उड्ने तालिका सार्वजनिक भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भए पनि भैरहवाबाट दुबई जानेलाई सहज हुने छ । भैरहवाबाट दुबई जान चाहनेले काठमाण्डौमा एक घण्टा ‘ट्रान्जिट’मा बस्नु पर्नेछ ।


त्यसैगरी, कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ । जजिराले कार्तिक १२ गते अर्थात् अक्टोबर २८ बाट कुवेत–भैरहवा–कुवेत उडान गर्न विमानस्थलबाट सोमबार नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ । हप्तामा ३ दिन जजिराको जहाज बिहान ६ बजेर २५ मिनेटमा भैरहवा आएर ७ बजेर १० मिनेटमा कुवेत उड्ने छ ।