काठमाडौँ जोड्ने तीनवटा छोटो दूरीका सडक सञ्चालनमा, यात्रुलाई राहत ।

काठमाण्डौँ, बाढीपहिरोले क्षतिग्रस्त बनेको संघीय राजधानी काठमाडौँ र प्रदेश राजधानी हेटौंडा जोड्ने तीनवटा छोटो दूरीका सडक मार्ग सञ्चालनमा आएका छन्।
हेटौंडा–काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको महालक्ष्मीखोला–चखेल–मातातीर्थ सडक खण्ड, फाखेल– हुमाने–फर्पिङ सडक र सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं जोड्ने सडक आइतबार साँझबाट सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्केले बताए ।
आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मास्केले यी सडकमार्गहरुमा गएका एक सय भन्दा बढी पहिरो हटाइएको जानकारी दिए ।
कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमार्ग अन्तर्गत सिमखोला पुल नजिकैको पहुँचमार्ग बगाएपछि डाइभर्सन निर्माण गरिएको छ । कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा एउटा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा एउटा, कुलेखानी हेवीमा एउटा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको छ ।
दक्षिणकालीमा सरकारी स्वामित्वको जग्गाको समेत अभाव हुनेगरि बाटो बगाएपछि निजी जग्गामा डाईभर्सन बनाइएको मन्त्री मास्केले बताए ।
सडक सुचारु भएसँगै सबै सडक सञ्जालमा आइतबार साँझबाट नै यातायात सञ्चालनमा आएको छ । योसँगै काठमाडौँ हेटौंडा जोड्ने ५ वटा सडकमार्ग सञ्चालनमा आएको छ । कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–सडक र त्रिभुवन राजपथ यस अघि नै सञ्चालनमा आएका थिए ।
प्रतिक्रिया दिनुहोस्