तेह्रथुमका दीपक सिलवालले अनशन तोडे, गृहमन्त्रालय र सिलवालबिच पाँचबुँदे सहमति ।
काठमाण्डौँ, हवाई एम्बुलेन्सको माग गर्दै विगत एक महिनादेखि काठमाण्डौँको शान्तिवाटिकामा अनशन बसेका तेह्रथुमका दीपक सिलवालले शनिबारदेखि अनशन तोडेका छन् ।
गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच पाँचबुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रमबीच गृहमन्त्री रमेश लेखकले उनलाई जुस पिलाएर अनशन तोडाए ।
कार्यक्रममा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताए । सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे ।
सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गरेको भन्दै मन्त्री लेखकले प्रशंसा गरे । गृहमन्त्री लेखकले हाल सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनु हुँदैन र पीडामा रहेका हरेकको उद्धार गर्नुपर्छ भनेर सिलवालले राखेको माग जायज भएको पनि बताए । हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको विषयलाई समावेश गरी अघि बढ्ने पनि उनले प्रतिबद्धता जनाए । उनले तोकतान्त्रिक ढंगले गरिएको सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिए ।
गृह मन्त्रालयका सूचना अधिकारी तामाङले आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक साधनस्रोत तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थान गरी थप प्रभावकारी बनाउनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्