२०८१ माघ २६

मेची राजमार्गमा पहिरो खस्यो, यातायात अवरुद्ध, सवारी र यात्रु बोटोमै अलपत्र ।

इलाम, मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ सख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् । झापाबाट आएका सवारी साधनहरु माईखोलापारी र इलामबाट गएका सवारी साधनहरु पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् ।
“यात्रुलाई केही दूरी पैदल हिँडाएर सवारीमार्फत गन्तव्यमा पु¥याउने काम भइरहेको छ”, प्रहरी प्रमुख ढकालले भन्नुभयो, “यसका लागि रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।”
पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिकमार्ग प्रयोगको तयारी पनि भइरहेको उहाँको भनाइ छ ।


आज बिहानदेखि इलाम नगरपालिका–१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका–८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गरिएको उनले बताउनुभयो ।
पानी परिरहेकाले सो क्षेत्रमा जोखिम बढेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । सो स्थानमा गत साता समेत पहिरो जाँदा एक दिन राजमार्ग अवरुद्ध भएको थियो । मर्मतपछि सञ्चालनमा आएको एक साता नबित्दै पुनः पहिरो झरेको हो ।