२०८२ बैशाख १५

आज ४५औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौँ, आज सेप्टेम्बर २७ अर्थात् ४५ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
दिवसका अवसरमा पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउदैछ । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ ।
दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।


मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।
दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाण्डौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताउनुभयो ।


पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाण्डौँमा बिहीबार सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सघको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।