राष्ट्रपति पौडेल सुस्ता जाँदै, देशकै लामो सुस्ता पुल उद्घाटन गर्ने ।
काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेल आज पश्चिम नवलपरासीको सुस्ता जाने कार्यक्रम रहेको छ ।
केहीदिन अधि निर्माण सम्पन्न भएको नारायणी नदी माथिको एक हजार पाँच सय ५८ मिटर लामो फलामे झोलुंगे पुलको राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक उद्घाटन गर्नेछन् । पुल निर्माणपछि नारायणी पारिका करिब ३५० घर परिवारमा भिन्नै रौनक आएको छ । सुस्ताको पुल देशको सबैभन्दा लामो पुलको रुपमा गणना पनि भएको छ ।
पुल उद्घाटन समारोहमा कार्यवाहक प्रधानमन्त्री तथा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह तथा नवलपरासी पश्चिमका सांसद विनोद चौधरी पनि सहभागी हुने छन् ।
यो पुलको निर्माणको सम्झौता २०७० सालमै सम्पन्न भएको र तीन वर्षभित्र निर्माण सक्ने सर्त भएता पनि पुल बनिसक्न दश वर्षभन्दा बढी लागेको छ । पश्चिम नवलपरासीबाट निर्वाचित सांसद देवकरण कलवारले २०७४ मा पुलको काम अघि बढाउन पहल गरेका थिए ।
२०७९ सालको निर्वाचनमा विनोद चौधरी यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएपश्चात पुल निर्माणको काम द्रुत गतिमा सम्पन्न भएको थियो ।
नारायणी नदी पारिका जनताले आफूलाई नेपालबाट पर भएको महसुस गर्नुपरेको थियो अब त्यो अवस्थाको अन्त्य भएको सांसद चौधरीको छ । आफ्नै देशभित्रको अर्को स्थानमा जान पनि अर्काे देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ ।
यो पुलसँगै सुस्ता वडा नं. ५ का जनताले सरकारबाट अर्को पनि सुविधा पाएका छन्, त्यो हो बिजुली बत्ती । अहिलेसम्म बिजुलीसम्म नपुगेको यो वडा अब झलमल्ल हुन थालेको छ । ११ केभी लाइन बिजुली पनि पुलकै बाटोबाट गाउँसम्म पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्