पूर्व डीआईजी जोशीलाई आज कास्की अदालतमा उपस्थित गराइने ।
पोखरा, गोर्खा मिडिया प्रालिमा गएको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई आज कास्की अदालतमा उपस्थित गराइने भएको छ ।
जोशीलाई हवाई जहाजबाट आइतबार बेलुकी पोखरा ल्याइएका जोशीलाई सोमबार आज जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।
६५ करोडभन्दा धेरै सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरिएको अभियोगमा पूर्व सञ्चालक जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया, रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने, दिपेश पुनसहित ४ व्यक्ति र १४ संस्थालाई विपक्षी बनाएर गत साल माघ २२ गते जाहेरी दिएका थिए । सूर्यदर्शनको मुद्दा अदालतमा पुगिसकेकाले प्रहरीले त्यसलाई पुरक जाहेरीका रूपमा राखेको थियो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् । पोखराको सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो ।
गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक रवि लामिछाने विरूद्ध पनि कास्कीमा जाहेरी परेकाले उनी पनि पक्राउ परे पोखरा नै ल्याइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्