प्रधानमन्त्री ओली र मोदीबीच आधा घन्टा भेटवार्ता ।
काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेटवार्ता भएको छ ।
सोमबार बिहान ४ बजे भएको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् ।
भेटमा दुई देशका बीचमा देखिएका कतिपय अन्यौताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यसअघि नै बनेको इपिजी नै सक्रिय गराउने वा नयाँ संयन्त्र बनाउने भन्नेबारे स्पष्ट हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले दुवै देशका प्रधानमन्त्रीबीच राम्रो भेटवार्ता भएको बताए । ओली चौथोपल्ट प्रधानमन्त्री बनेपछि भारतीय समकक्षी मोदीसँग यो पहिलो भेटवार्ता हो ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।
परराष्ट्रका प्रवक्ता अमृत राई र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्