प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा, राष्ट्रपतिको समुपस्थितिमा काउन्सिलले प्रदान गरिने ।
काठमाण्डौँ, प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा आज गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार वितरण गर्ने भएको छ ।
राष्ट्रपति निवास, शितलनिवासमा आज अपराहन्न ३ बजे स्थापनाको ५५ वर्ष पुगेको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काउन्सिलले विभिन्न पुरस्कार प्रदान गर्न लागेको हो ।
यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा प्रदानगरेको छ ।
तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो ।
यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलो पल्ट हो ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उहाँको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो। शर्मा उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुनुहुन्छ ।
यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरिने निर्णय भएको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपियाँ रहेको छ ।
काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो । पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ हाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्य समेत हुनुहुन्छ ।
यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गर्ने निर्णय समेत भएकोे छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो ।
-
१
परराष्ट्रमन्त्री राणाद्वारा इजरायल र लेवनानमा राजदूतहरूसँग संवाद ।
-
२
काठमाण्डौँबाट बाहिरीनेको संख्या बढ्दो, ३ लाख ८० हजार मानिसले उपत्यका छाडे ।
-
३
तेह्रथुमका दीपक सिलवालले अनशन तोडे, गृहमन्त्रालय र सिलवालबिच पाँचबुँदे सहमति ।
-
४
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरि मनाइदै ।
प्रतिक्रिया दिनुहोस्