मनाङमा पर्यटकको चहलपहल सुरु ।
चमे, अन्नपूर्ण पदमार्ग अन्र्तगत मनाङमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् ।
धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जनासम्म पर्यटक आउन थालेका छन् ।
पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस क्षेत्रमा १० हजार आठ सय ९७ जना पर्यटकले पदयात्रा गरेका थिए । हालसम्म फ्रान्सका एक हजार एक सय ७२, इजरायलका एक हजार ८२, जर्मनीबाट आठ सय ९२, भारतका आठ सय २८ जना पर्यटकले यो भेगको भ्रमण गरेको प्रमुख गुरुङले जानकारी दिए ।
पर्वतारोण र पदयात्राका निम्ति प्रख्यात मनाङ आउने पर्यटक थोराङलातर्फ पनि जाने गरेका छन् । यो स्थान पार गर्न करिब २१ दिन लाग्ने गरेकामा केही स्थानमा सवारीसाधनसमेत सञ्चालनमा आएपछि थोराङलाको यात्रा १२ दिनमा टुङ्गिने गरेको पदयात्रा व्यवसायीहरूले बताएका छन् । विगतका वर्षहरूमा झै यो वर्ष पनि दैनिक चार सय पर्यटकले मनाङ भ्रमण गर्ने उनीहरूको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्