२०८१ आश्विन २०

नेपालमा दूतावास स्थापना गर्न क्यानाडाली सरकार सकारात्मक ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी छन् ।
बुधबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीबीच ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले उक्त आग्रह गरेकी हुन् ।
अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ’, ‘त्यसैले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’उनले भनिन ।
द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुगेकी हुन् ।
नेपाल र क्यानाडादबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।
अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरुलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ ।
क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिइन् ।