२०८१ मंसिर २९

सघीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस, प्रधानमन्त्री ओलीको सम्बोधन अनिश्चित ।

काठमाण्डौँ, आइतबार बसेको मन्त्री परिषद् बैठकले सघीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिए । सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो । चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो ।
भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले विशेष समयको वक्तव्यमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेका थिए । ‘हिंसा’ शब्दकै विवादका कारण भदौ २६ गतेको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । त्यसको चार दिनपछि आइतबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको थियो ।
प्रतिनिधि सभाको अवरोध कायमै रहेसँगै आज (सोमबार)का लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन अनिश्चित बनेको छ । संयुक्त राष्ट्रसघको महासभामा जानुअघि सदनमा जानकारी दिन प्रधानमन्त्रीले सोमबार सम्बोधनको तयारी भएको थियो । प्रधानमन्त्रीको सम्बोधन र सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस र आवश्यक निर्देशनपछि चालु अधिवेशन अन्त्यको तयारी संसद सचिवालयले गरेको थियो ।