२०८१ माघ २६

वीर अस्पतालमा पुनः जलन उपचार सुरु ।

काठमाण्डौँ, काठमाण्डौँको वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा पुनः सुरु गरिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ’ वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्र’को शुभारम्भ गरेका हुन् ।
जलनका बिरामीका लागि अस्पतालमा १० वटा जनरल बेड, पाँचवटा आईसीयू बेड र तीनवटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ ।
जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।


अस्पताल निर्देशक डा. सन्तोष पौडेलले झन्डै दुई वर्षअघि आफ्नो नियुक्तिको पहिलो निर्णयमा नै बर्न युनिट सुरु गर्ने बताएका थिए । तर, जनशक्ति, स्थान अभावसहितका कारणले सेवा सुरु गर्न ढिलाइ भएको थियो ।
वीर अस्पतालले आठ वर्षपछि जलनको पुनः उपचार थालेको हो । २०७२ को विनाशकारी भूकम्पले बर्न वार्ड रहेको भवन भत्किएपछि जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो । जलनका बिरामीलाई आवश्यक सबै उपचार सेवा केन्द्रबाट दिइने अस्पतालले जनाएको छ ।