२०८१ आश्विन २०

नेपाली काँग्रेस आज कोशी प्रदेश सरकारमा सहभागी हुने ।

काठमाण्डौँ, आज नेपाली काँग्रेस कोशी प्रदेश सरकारको मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् ।
हिजो (बुधबार) काँग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । बैठकले आज बिहान ९ बजेसम्म सरकार गठन गर्ने गरि तयारी गरेको थियो ।
थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ । योसँगै अब एमालेबाट दुई र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ ।
सभापति थापाका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले फोन गरेर कोशी प्रदेशको समस्याबारे सोधेका थिए ।
यसअघि कोशी प्रदेश सरकारमा काँग्रेस सहभागी नभए पनि प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्दै आएको थियो । १२ साउनमा एमालेसँगको सहमतिपछि काँग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएको थियो । तर आन्तरिक भागबण्डा मिलाउन नसकेपछि सरकारमा सहभागी भएको थिएन ।