२०८१ फाल्गुन ५

जारको पानीमा भेटियो कोलिफर्म ।

काठमाण्डौँ, काठमाण्डौँका बजारमा बिक्रीवितरण भइरहेकोे जारको पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ ।
काठमाण्डौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।
निरीक्षक डा. झाका अनुसार काठमाण्डौँका बजारमा बिक्रीवितरण भइरहेका विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी संकलन गरी परीक्षणका लागि काठमाण्डौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो । पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको थियो ।