२०८१ आश्विन २०

आज चेपाङ समुदायको छोनाम (न्वागी) पर्व हर्सोल्लासकासाथ मनाउँदै ।

चितवन, आज चेपाङ समुदायको छोनाम (न्वागी) पर्व हर्सोल्लासकासाथ मनाउँदै छन् ।
चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने यो पर्व हरेक वर्ष भदौ २२ मा मनाउने चलन छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा यसपटक गोरखाको गण्डकी गाउँपालिका–६, तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५, च्याङ्लीमा सामूहिक रूपमा भेला भएर न्वागी मनाइएको थियो ।


चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।
उनका अनुसार विसं २०६३ सालदेखि चेपाङ संघको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रूपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।
चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ संख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजार २६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताए ।
चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।