२०८१ मंसिर २९

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु ।

काठमाण्डौँ, सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।
यही भदौ १७ गते अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि सहमति दिएपछि बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । अर्थबाट सो रकम बराबरको ऋण लिनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको थियो ।
प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणका रूपमा लगानी गर्नेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दसैँअघि नै दुग्ध किसानको बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो । अर्थको सहमतिसँगै मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ६० करोड ऋण सहयोग उपलब्ध गराउने छ ।
यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुनेछ ।
प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुनुहुने छ ।
यस्तै मन्त्रीपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । लामाले केही समयअघि रेडियो नेपालबाट २५ वर्ष सेवाअवधि पूरा गरेर स्वैच्छिक अवकाश लिनुभएको थियो ।
त्यसैगरी सहसचिव गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कार्कीलाई प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव नियुक्तिलाई लिएर असन्तुष्ट राष्ट्रिय योजना आयोगका सचिव तोयारनारायण ज्ञवालीले राजीनामा दिएपछि एक सचिव पद रिक्त थियो ।
बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त गर्ने निणैय गरेको छ ।
खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।
यसैगरी सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार दिने निर्णय गरेको छ ।
बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।