२०८१ आश्विन २

पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान ।

काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।
शीतल निवासमा एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।
सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख रुपैयाँ नै दिने स्पष्ट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए ।
‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ’ उनले भने ।


पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन नेपाल आइपुग्नसाथ नगर परिक्रमा गराइएको छ ।
त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।
एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।